Monday 29 April 2013

आयो हरिवंशको आत्मकथा

haribngsa
 'किताब र पढाइ मेरा लागि सानैदेखि मन नपर्ने शब्द थिए, तर परिस्थितिले अहिले लेखक बन्न बाध्य भएँ,' अभिनेता हरिवंश आचार्यले आइतबार यसो भनिरहँदा श्रोताहरूबीच हल्का हाँसो फैलियो । उनी आफ्नो आत्मकथा सार्वजनिक भएपछि त्यसको रचनागर्भबारे बोल्दै थिए, जसमा हाँसो मात्रै छैन ।
'चिना हराएको मान्छे' को लोकार्पण व्यंग्य चित्रकार दुर्गा बराल (वात्स्यायन) ले हरिवंशबारेको कार्टुन अनावरण गरेर गरे । यसका लागि हरिवंश पत्नी मीराको दोस्रो पुण्यतिथिको अवसर पारिएको हो ।
पत्नी रमिलासाथ मञ्चस्थ हरिवंश दुःखी बढी र खुसी कम देखिन्थे । उनले पुस्तकबारे बोल्नुअघि आइतबार बिहान घरमा मीराको श्राद्ध गर्दाको क्षण सबैसँग साझा गरे । 'सधैं रातो रंगमा, सारीमा देख्थें मीरालाई,' उनले अवरुद्ध गलाले भने, 'तर, आज पहेंलो र सेतो रंगमा फोटो रंगाउनुपर्दा भावुक भएको छु ।' आफूलाई सफलता शिखरसम्म पुर्‍याउन मीराले गरेको योगदान सम्भ“mदै उनले आत्मकथा लेख्ने ठूलो साहस पनि उनकै प्रेरणा रहेको बताए । 'दुःख पोख्ने ठाउँ मीरा थिइन्,' उनले भने, 'यसरी कहिल्यै किताब लेखुँला भनेर सोचेको पनि थिइनँ ।'
उनले आफु भाग्यमानी र अभागी दुवै रहेको बताए । सानैमा बुबा, आमा र पत्नी गुमाएकाले आफू अभागी रहेको उल्लेख गर्दै उनले भने, 'तर बाल्यकालमा पाँच दिदीबहिनीबाट आमासरहको माया पाउनु, बुबा जस्तै जिम्मेवार दुई छोरा -त्रिलोक र मोहित) पाउनु, दोस्री पत्नी रमिलाको साथ पाउनु र मन मिल्ने साथी मदनकृष्ण श्रेष्ठ पाउनुले म अत्यन्त भाग्यमानी पनि हुँ । रमिलाको अनुहारमा मीरा देख्छु । त्यसैले मीरा जीवित छन् जस्तो लाग्छ मलाई ।' पत्नी उपचारको क्रममा मुलुकबाहिर रहेका मदनकृष्णलाई पनि उनले निकै 'मिस' गरे ।
मीराको स्वभाव असहाय, गरिब र अशक्त बालबालिकाको सहयोगमा रुचि राख्ने खालको भएको चर्चा गर्दै हरिवंशले त्यसलाई कार्यान्वयन गर्न रमिलाको अध्यक्षतामा 'मीरा चाइल्ड केयर सेन्टर' खोलेको समेत जानकारी गराए । त्यसका लागि प्रकाशक फाइनपि्रन्टका नीरज भारीले औपचारिक लोकार्पण हुनुअघि बिक्री भएका 'चिना हराएको मान्छे' को रोयल्टीबापत पाँच लाख रुपैयाँको चेक रमिलालाई हस्तान्तरण गरे । 'सेन्टरको सहयोगका लागि दुई हजार दाम राखेर लिमिटेड एडिसन पनि निकालेका छौं,' नीरजले भने, 'त्यसको बिक्रीको ९० प्रतिशत रकम सेन्टरलाई नै जानेछ ।'
चित्रकार बरालले हरिवंश मनोरञ्जन प्रदान गर्ने कलाकार मात्र नभएर परोपकार भाव भएका असल व्यक्तिसमेत रहेको बताए । डा. रवीन्द्र समीरले शोकलाई शक्तिमा बदल्न सक्ने क्षमता हरिवंशमा भेटिएको सुनाए । उपन्यासकार अमर न्यौपानेले हरिवंशका कृतिमा अधिकांश दुःखका क्षण समेटिए पनि पाठकले त्यसबाट सकारात्मक सन्देश लिन सक्ने टिप्पणी गरे । 'जीवनमा अनेक समस्या आइपर्छन्, तिनबाट कसरी संघर्ष गरेर अघि बढ्ने भन्ने विषयमा हरिवंशको जीवनी प्रभावकारी हुन सक्छ,' उनले भने ।  
Copyright: 

No comments:

Post a Comment