नेपालको वयस्क जनसंख्यामध्ये एक चौथाइ 'हाइपरटेन्सन' अर्थात् उच्च रक्तचापको समस्याले पीडित छ । त्यस्ता पीडितमा ग्रामीण क्षेत्रको दाँजोमा सहरका बासिन्दाको संख्या बढी छ ।
यो समस्याले मुटु, मृगौला, मस्तिष्क र आँखा सबैभन्दा बढी प्रभावित हुन्छ । स्ट्रोकले हुने मृत्युमा भने करिब ५७ प्रतिशत केस उच्च रक्तचापको हुन्छ । 'हाम्रो मुलुकको १८ वर्षमाथिको २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले पीडित छ,' सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनबहादुर केसी भन्छन्, 'उच्च रक्तचापको ९० प्रतिशत केस थाहा पाउन सकिँदैन । यसैले वयस्कले वर्षमा कम्तीमा एकपटक पे्रसर जचाउनुपर्छ ।' १४०/९० भन्दा तलको रक्तचापलाई सामान्य नै मानिन्छ । उच्च रक्तचापका कारण मुटुले अतिरिक्त कडा परिश्रम गर्नुपर्छ । उक्त रक्तचापले गर्दा धमनी क्षतिग्रस्त हुन सक्छ । यो समस्याले विस्तारै विस्तारै मुटुको मांसपेसी कमजोर पार्छ । यसले गर्दा मुटुलाई अक्सिजनसमेत बढी चाहिन्छ ।
विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार, विश्वभरिका करिब एक अर्ब व्यक्ति उच्च रक्तचापको समस्याले ग्रस्त छन् । उच्च रक्तचाप वर्षेनि ९४ लाख व्यक्तिको मृत्युको कारण बन्दै छ । यति मात्र नभई अपंगताको सात प्रतिशत समस्यामा समेत यो जिम्मेवार हुन्छ । वर्षेनि दक्षिण-पूर्व एसियाका १५ लाख व्यक्तिको मृत्यु उच्च रक्तचापले हुने गर्छ । हाल विश्वमा २५ वर्षभन्दा माथिका करिब ४० प्रतिशत व्यक्ति उच्च रक्तचापको सिकार छन् ।
'मुलुकमा आधुनिक जीवनशैलीले ल्याएको परिवर्तन, मानसिक तनाव, अस्वस्थकर खवाइ लगायतका समास्याहरूले उच्च रक्तचापको समस्यामा वृद्घ िदेखिएको हो,' नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी भन्छन्, 'मुलुकको परिवेशले गर्दा समेत जीवनशैली बिगि्रएको हो । सामाजिक, आर्थिक राजनीतिक वातावरणले जीवनशैली निर्धारण गर्छ ।' बदलिँदो अस्वस्थकर जीवनशैली, व्यायामको कमी, खानामा बोसो र नुनको बढी उपयोगले गर्दा समेत नेपालीहरूमा उच्च रक्तचापको खतरा बढी छ । डब्लूएचओका अनुसार, सहरी क्षेत्रको जनसंख्यामा उच्च रक्तचाप बढाउनमा बूढापाकाको संख्या वृद्धि, तीव्र सहरीकरण, कृषि आधारित जीवनशैलीको परित्याग, आधुनिक सहरी जीवन जस्ता सन्दर्भले लगायतकाले सघाइरहेका छन् । धेरैजसो मुलुकहरू कृषिप्रधान रहँदासम्म उच्च रक्तचापको समस्या यस्तो विधि देखापरेको थिएन । औद्योगीकरणपछि यो रोगले गति लिएको हो । गाउँबाट सहर आउनेहरूलाई समेत यो रोगले केही वर्षमै समात्ने गरेको छ ।
उच्च रक्तचाप निको हुने रोग नरहेको जनाउँदै गंगालालकै कार्डियोलजी विभाग प्रमुख डा. यादव भट्ट भन्छन्, 'उच्च रक्तचापलाई औषधिले नियन्त्रण गर्न सकिन्छ । यसैले चिकित्सकले रिफर गरेको औषधि खान छोड्नु हुँदैन ।' तथापि कसैकसैलाई औषधि खाए पनि गर्मीयाममा नियन्त्रण हुने तर जाडोयाममा अनियन्त्रित नै हुने गरेको पाइन्छ । डा. भट्टका अनुसार, यस्ता व्यक्तिले जाडो याममा नियमित रक्तचाप परीक्षणसँगै चिकित्सकीय सल्लाह लिने गर्नुपर्छ ।
No comments:
Post a Comment