Monday 22 April 2013

नर्कमा पोखिएको सपना

लेबनान जान भनेर हिँड्नुअघि संखुवासभाकी अनिता राई (नाम परिवर्तन) ले योजना बनाएकी थिइन्, 'महिनाको ८ सय डलर कमाइ हुन्छ, ओभर टाइम गरेको त अझ छुट्टै आउँछ । सुरुका दुई चार महिनाले ऋण तिर्छु । बाँकी पैसाले सानो घर बनाउँछु, आफ्नो व्यवसाय सुरु गरेर बस्छु ।' तर उनको योजना 'सपना' त्यो बेला भयो, जुन बेला उनले आफू ८ हजार डलरमा बेचिएको थाहा पाइन् । पुसको दोस्रो साता लेबनान जान हिँडेकी उनी इराक पुगिन् । तलब त के खानसमेत राम्ररी पाइनन् । झन्डै चार महिनापछि काठमाडौं आइपुगेकी उनी धेरै कुरा गर्दिनन् । कुरा गर्दागर्दै उनका गहमा आँसु भरिन्छ । लेबनान हिँडेकी उनी कसरी इराक पुगिन् त्यहाँ उनले के के भोगिन् उनकै शब्दमा ।
काठमाडौंबाट म प्लेनमा दुबई पुगें । त्यहाँ हिन्दी बोल्ने एउटा केटो लिन आएको थियो । त्यो केटाले अर्को दिन प्लेन चढायो । एयरपोर्ट पुगेपछि थाहा भयो, मलाई त लेबनान भनेर इराक पठाएछ । इराकको एयरपोर्टमा गाडीको ड्राइभर लिन आएको थियो । उसले त्यहाँबाट लगेर एउटा कोठामा मलाई छाडेर बाहिरबाट चुक्कुल लगाएर गयो । तीन दिनसम्म कोही बोलाउन आएनन् । चिसो भुइँमा पातलो डसनाको ओछ्यान थियो ।
तीन दिनपछि सुमन नामको बंगाली केटो आएर मलाई काम गर्न हिँड भन्यो । घरेलु कामदारका लागि लिन आएको छ, जाउँ भन्यो । मैले त डिपार्टमेन्ट स्टोरमा काम गर्न भनेर आएको बताएँ । उसले मलाई जबरजस्ती काममा पठाउन खोज्यो मैले जान्नँ भनिरहें । अनि त मलाई पिट्न थाल्यो । सहनै नसक्ने गरी पिटेपछि मैले म काममा जान्छु भनें ।
म एउटा घरमा कामदार गर्न थालें । घरधनी बाबा सुरान भन्ने रहेछन् । उनको छोरो १९ वर्षको थियो । त्यो केटोले मलाई साह्रै दुव्र्यवहार गर्न खोज्यो, जबरजस्ती गर्न खोज्थ्यो । म तेरा बाआमा र पुलिसलाई भन्दिन्छु भन्दै डर देखाउँथें । त्यो घरमा बसिन्जेल जहिले पनि डर लागिरहन्थ्यो ।
काम गरेको २ महिना पुग्दासम्म पनि तलब नदिएपछि मैले एक दिन घरधनीसँग तलब मागें । उसले त अचम्म मान्दै कस्तो तलब भनेर मलाई नै पो सोध्यो । मलाई बल्ल थाहा भयो- उसले मलाई ८ हजार डलरमा किनेर लगेको रहेछ । म त बेचिएकी रैछु । म छाँगाबाट खसेजस्तै भएँ । मैले मलाई त्यहाँ पठाउने अफिसमा पुयाइदेऊ भनें । उनीहरूले धेरै दिन आनाकानी गरे । मैले पुलिसमा जान्छु भनेपछि साहुनीले मलाई कम्पनीको अफिसमा ल्याइन् । उनीहरूबीच इराकी भाषामा कुरा भयो । मैले बुझिनँ । अरबीमा बोलेको भए बुझ्थें ।
पहिले थुनेर राखेको कम्पनीमा फर्किएर अाएपछि मेरो जीवन नर्कमा परेजस्तो भयो । रात दिन पिट्थे । बाहिरबाट केटाहरू ल्याएर जबरजस्ती गर्थे, गर्न लगाउँथे । नमान्दा आनाकानी गर्दा दुईजना मिलेर शरीरका सबै कपडा जबरजस्ती च्यातिदिन्थे । पिटाइ त कति खाएँ, मर्दै बौरिँदै गरेँ । उनीहरूले मलाई फेरि अर्को घरमा काममा पठाउने कोसिस गरे, मैले नमानेपछि त्यही घरलाई नै कोठीजस्तो बनाएर केटाहरू पठाइदिन्थे । भनेको नमान्ने भए जिन्दगीभर खान पनि नदिई थुनेर राख्छौं भन्दै धम्की दिन्थे । मलाई बाँचेर आउँछु होलाजस्तो त कहिल्यै लागेन ।
२० दिनसम्म एक छाक पनि राम्रोसँग खान नदिई पिटेर र यातना दिएर राखे । मेरो सुनको सिक्री र मैले भित्री कपडाभित्र लुकाएर राखेको ७ सय डलरसमेत उनीहरूले नै लुटेर लगे । मलाई राखेको छेउका कोठामा पनि ३ देखि ५ जनासम्म नेपाली महिला थिए । उनीहरू चिच्याएर रुन्थे, कराउँथे । उनीहरूमाथि पनि सायद मलाईजस्तै व्यवहार गर्थे होलान् । उनीहरू कराएको सुनेर नेपाली भन्ने थाहा हुन्थ्यो, भेट्न पाइन्थेन । एउटी बहिनीले भित्र आएको केटालाई पिटिछन् । अर्को दिन तिनलाई रगत नै बमिट गर्ने गरी पिटेछन् ।
ल्यासब्याक
फुपूको पछि लागेर काठमाडौं आउँदा म ५ कक्षामा पढ्थें । १४ वर्षकी थिएँ । फुपूहरू बौद्धमा पस्मिनाको काम गर्नुहुन्थ्यो । म पढाइ छोडेर काम गर्न आएँ । एक वर्षजति त्यहाँ काम गरें अनि नख्खुको पस्मिना बनाउने ठाउँमा गएँ । त्यही क्रममा मेरो एउटा केटासँग परिस्थितिले बिहे गराइदियो । हाम्रो मायाप्रेम थिएन तैपनि मैले बाध्यतामा बिहे गर्नुपर्‍यो । मलाई मन नपरे पनि ऊ मेरो कोठामा आइरहन्थ्यो । एक दिन गाउँतिरका दाइहरू आएका बेला ऊ मेरो कोठामा थियो । उसलाई र मलाई देखेपछि उनीहरूले हाम्रो सम्बन्ध रैछ भनेर बिहे गरिदिए ।
बिहे हुँदा म १६ वर्षकी थिएँ । बिहेको एक वर्षमा छोरो जन्मियो । छोरो भएको दुई जर्षसम्म हाम्राे सम्बन्ध राम्रै थियो । यसपछि दिनहुँ झगडा हुन थाल्यो । बिहे गरे पनि उसले मलाई घर लगेको थिएन । मैले जिद्दी गरेपछि एक दिन उसका दिदीहरू आए र उसलाई र मेरो छोरालाई नै लिएर गए । मेरो छोरोलाई भेट्नसमेत दिएनन् । म सोझी थिएँ, त्यो बेला केही गर्न सकिनँ । म एक्ली भएँ । त्यसपछि माइती संखुवासभा गएर बसें ।
त्यहीका साथीहरूले विदेश जाने कुरा गरे । मलाई पनि ठीकै होलाजस्तो लाग्यो । पासपोर्ट बनाएर कुबेत गएँ । त्यहाँ हाउसमेडको काम राम्रै थियो । घर सफा गर्नुपर्ने । महिनाको १० हजार नेपाली रुपैयाँ जोगिन्थ्यो । २ वर्ष काम गरेपछि नेपाल आएँ ।
कुबेतमा चिनेको दुईजना केटीसँग बौद्धमा भेट भयो । बौद्ध स्तूपाको गेट नजिकै रहेको रेम्बो रेस्टुरेन्टमा म र मेरो २ जना साथीहरू गफ गर्दै बसेका थियौं । कुमारी शेर्पा भनिने फूलकुमारी महराले हाम्रो कुबेतको गफ सुनेर हामीसँग कुरा गर्न आइन् । उनले आफूले पनि विदेश पठाउने काम गरेको भन्दै लेबनानमा डिपार्टमेन्ट स्टोरमा सेल्स गर्लको काम छ जाने हो भनिन् । महिनाको ८ सय डलर हुने तर जान खर्च अलि बढी लागे पनि काम सजिलो छ भनिन् । कुबेतमा जस्तो कडा हँुदैन, महिनामा २ सय डलर ओभर टाईम हुन्छ भनेपछि मेरो मन लोभियो । कुबेतमा त महिनाको १० हजार मात्र हुन्थ्यो । यहाँ त झन्डै एक लाख आउने रहेछ । मैले जान कति खर्च लाग्छ भनेर सोधें । उसले ४ लाख रुपैयाँ खर्च लाग्छ भनिन् ।
केही समय त्यत्तिकै बित्यो । उनले मेरो फोन नम्बर लिइन् । केही दिनपछि फोन गरेर राम्रो कोटा आएको छ, जाने भए पासपोर्ट र एडभान्स पैसा लिएर आउ भनिन् । मसँग पैसा त थिएन । आफ्नो खर्चका लागि राखेको ३५ हजार रुपैयाँ थियो । त्यो अहिले दिन्छु बाँकी पछि दिन्छु भनें । त्यसको केही दिनपछि मैले लगेर पासपोर्ट र पैसा बुझाएँ ।
दुई महिनापछि एक दिन भिसा आयो भनेर फोन आयो । कुमारीले अब पैसा ठीक पार्नु भनिन् । मैले धेरै पैसा कमाउने काम पाइएको छ लेबनानमा भनेपछि दाइले सय कडा ५ ब्याजमा पैसा खोजिदिनुभयो । पुस २५ गते पहिला दिएको ३५ हजार रुपैयाँ कटाएर ३ लाख ६५ हजार रुपैयाँ बुझाएँ । भोलिपल्ट साँझ उड्ने हो, ३ बजेतिर त्यही रेस्टुरेन्टमा आउनु भनिन् । म भोलिपल्ट आएँ । उनले मोटरसाइकलमा राखेर तिलगंगासम्म ल्याइन् । त्यहाँबाट किरण भन्ने केटाले ट्याक्सीमा राखेर विमानस्थलभित्र पुर्‍यायो । उसले विमानस्थलमा कसैले सोध्दा लेबनानबाट ५ महिनाका लागि छुट्टीमा आएर फर्किन लागेको भन्नु भनेर सिकाएको थियो । मैले त्यही भनें ।
कुमारी र किरणले म विमानस्थल छिरेपछि २० पटकभन्दा बढी फोन गरे । सुरक्षा जाँच पार भए नभएको बारे सोध्थे । अति धेरै सोधेपछि मलाई शंका लाग्यो । अनि मैले दाइलाई फोन गरेर कुमारीको नाम, ठेगाना र मोबाइल नम्बर दिएँ ।
केही पछि मलाई बाहिर पनि लैजान थाल्यो । एक दिन एउटा फिलिपिनोको कोठामा लग्यो । त्यो घरमा काम गर्ने फिलिपिनो केटीले मलाई एकजना नेपाली दाइसँग फोनमा कुरा गराइदिइन् । ती दाइ  त्यहाँको सांसदको घरमा काम गर्ने रहेछन् । मैले उनलाई आपmनो कुरा सुनाएँ । उनले नेपालमा मेरो दाइलाई फोन गरेर मेरो पीडा सुनाइदिएछन् । दाइले मलाई विदेश पठाउने कुमारीलाई थर्काउनुभएछ । उसले इराकको बंगालीको फोन नम्बर दिइछ । दाइले उसलाई आफू मान्छे विदेश पठाउने एजेन्ट भएको र कुमारीले भन्दा धेरै केटी पठाइदिन्छु, अनिता बिरामी छ उसलाई चाहिँ नेपाल पठाइदे भनेर मनाउनुभएछ । अनि मलाई नेपाल पठाइदियो ।
अब म कहीँ जान्नँ । पेट पाल्ने १०-१५ हजार रुपैयाँको जागिर खाएर बस्छु । मैले इराकमा तलब त पाइनँ नै आफ्नो आत्मविश्वास पनि गुमाउन पुगें ।
सहयोगको गुहार
मजस्ता धेरै नेपाली चेलीबेटी इराकमा नर्कमा बाँचिरहेका छन् । ती हरेक दिन आफैभित्र मरेर बाँचिरहेका छन् । म नेपाल पुगेको थाहा पाएपछि कतिले आफूलाई पनि बचाइदिन अनुरोध गर्दै मेरो मोबाइलमा एसएमएस पठाएका छन् । यसरी एसएमएस पठाउनेहरूको पासपोर्टसमेत च्यातिदिएको छ रे । सिन्धुपाल्चोकतिर घर भएकी एकजनाले मेरो नम्बरमा बचाउन आग्रह गर्दै म्यासेज पठाएकी छिन् । उनी २७ महिनादेखि त्यहाँ रैछिन् । उनलाई पनि त्यही कुमारीले पठाएको रैछ । उसको लामो म्यासेजमा 'मलाई जुन कम्पनीमा काम गर्ने भनेर ल्याएको थियो, त्यो कम्पनी नै रहेछ । मलाई भिसा नै नलागी सेटिङ मिलाएर पठाएको रैछ । न मसँस पासपोर्ट छ न भिसा । अब म कसरी नेपाल फर्कौं दिदी, प्लिज मलाई हेल्प गर्नुस् । नेपालको पुलिसलाई यो म्यासेज देखाइदिनुहोला, दिदी म एकदमै बिचल्लीमा परेकी छु । मलाई यो ठाउँबाट जसरी भए पनि निकाल्नुहोला' लेखिएको छ । म आफै त त्यति दुःखले आएँ, मैले कसरी उद्दार गर्न सक्छु । यस्ता चेलीहरुको उद्दार गर्न नेपाल सरकारले पहल गर्नुपर्छ ।
Copy right : Kantipur Daily

No comments:

Post a Comment