Tuesday 9 April 2013

नेपाली नायिका कोसँग नजिक ?

दीपाश्रीदेखि केकीसम्मका साथी को-को ?
नेपाली सिनेमा क्षेत्रमा साथी कमाउन जति गाह्रो छ, त्योभन्दा धेरै सजिलो छ दुश्मन कमाउन । कलाकार-कलाकारवीच दुश्मनीको कथा सधैंजसो सञ्चारमाध्यमको प्रमुख समाचार बन्ने गर्दछन् । विशेषगरी एउटै पेशामा हुने प्रतिस्पर्धाले कलाकारवीच दुश्मनी बढेको देखिन्छ । यसैले पनि भनिन्छ, सिनेमा क्षेत्रमा को कतिबेला साथी र दुश्मन बन्छन्, पत्तै हुँदैन ।
भनिन्छ, साथी बनाउने मामिलामा पुरुषभन्दा महिलाहरु बढी संवेदनशील हुन्छन् । स्कुल कलेजका विद्यार्थी, गृहणी वा कुनै पेशा व्यवसायमा संलग्न महिलाहरुसँग कुनै न कुनै ‘क्लोज’ साथी रहेकै हुन्छन् । कोमल नारी संवेदनाको धनी भएका कारण सिने क्षेत्रमा काम गर्ने नायिकाहरुका पनि त्यस्तै भित्री साथी नहुने कुरै भएन ।
नेपाली सिनेमा क्षेत्रमा नायिकावीचको आपसी प्रतिश्पर्धाले गर्दा पनि यहाँ धेरैले दुश्मन कमाएका हुन सक्छन् । भेट्दा मुसुक्क हाँसे पनि धेरै नायिकावीच भित्री सम्बन्ध सुमधुर छैन । तर, थोरै नायिकाले भने आपसमा सुमधुर सम्बन्ध राख्ने गरेको पाइन्छ । केही नायिकाहरुका मन मिल्ने साथी नायिका नै भएका सीमित उदाहरण भेटिने गरेका छन् । यहाँ त्यस्तै नायिकाहरुको जोडीबारे चर्चा गरिएको छ :
ज्यान दिन तयार हुने नीता र अनु
सिने नगरीका दुई नायिका अनु शाह र नीता ढुंगाना निक्कै मिल्ने साथी हुन् । डेढ बर्षअघि पोखरामा एक म्युजिक भिडियो छायांकनका लागि पुग्दा नीता र अनु नजिक भएका हुन् । त्यसपछि एक-अर्काको व्यवहार मन परेपछि यी दुई नायिकाहरु साथी बनेका हुन् । अहिले नीता र अनु फुर्सद हुनेबित्तिकै एकअर्कासँगै हुन्छन् ।सँगै सपिङ जाने, खाजा खाने, फिल्म हेर्न जाने उनीहरु घण्टौंसम्म गफ गरेर बिताउँछन् । नीता भन्छिन्, हाम्रो साथीको सम्बन्ध यति घनिष्ट छ कि हामी एक अर्काका लागि ज्यान दिन पनि तयार छौं । यी दुईलाई सँगै सिनेमा खेल्ने मन छ, तर अवसर पाएका छैनन् ।
अनु शाहको इमान्दारिता र झुटो नबोल्ने बानीबाट नीता प्रभावित छिन् । ‘अनु साह्रै व्यवहारिक लाग्छ ।’ नीता भन्छिन् । तर, अनु धेरै नै सोझी हुँदा गलत मानिसहरुले फाइदा उठाएका छन्, नीता उनीप्रति आलोचनात्मक टिप्पणी गर्छिन् ।

यता अनु पनि नीता एकदमै मिलनसार भएको बताउँछिन् । तर, धेरै सोच्ने, भावुक भएर बस्ने नीताको बानी अनुलाई मन पर्दैन । उनी भन्छिन्, नीताले यो बानी सच्याउनुपर्छ । एक अर्काको सकारात्मक र नकारात्मक कुरा खुलेरै भन्ने यी दुई आफूहरुको यो सम्बन्ध सधैं यस्तै सुमधुर रहने विश्वासमा छन् ।
रिमा, बेनिशा र केकी
नायिकात्रय रिमा विश्वकर्मा, केकी अधिकारी र बेनिशा हमाल पनि एक अर्काका घनिष्ट साथी हुन् । चलचित्र स्वरबाट एकैसाथ सिनेमा नगरीमा भित्रिएका यी तीन नायिकाहरु अहिले म्युजिक भिडियो र सिनेमा नगरीमा जमिरहेका छन् ।
नायिका रिमा विश्वकर्मा स्वरको छायांकनदेखि प्रदर्शनसम्म एकसाथ भएकाले पनि आफूहरु एकअर्काको दुख सुखको साथी बनेको बताउँछिन् । नायिका बेनिशा हमाललाई रिमाको लचिलो हुने र दुख-सुखमा साथ दिने बानी मनपर्छ । मलाई रिमाको आवश्यकता छ भनेर महशुश गरेको समयमा ऊ जसरी पनि आइपुग्छे, बेनिशा भन्छिन् । केकी सम्बन्धलाई निरन्तर अगाडि बढाउन सिपालु छ, बेनिशा थप्छिन् ।
यी तीन नायिकावीच कुनै पनि कुराको दायरा छैन । एकअर्काको आलोचनादेखि प्रशंसा खुलेरै गर्छन् । सिनेमा हेर्न, फुर्सदको समयमा खाजा खान, पार्टीमा होस् या सिनेमासम्बन्धी कुनै कार्यक्रममा यी तीन नायिकाहरु सँगै हुन्छन् । रिमाको चाँडै नै प्रभावित हुने बानी सुधार गर्नुपर्छ, बेनिशाको तर्क छ । तर, बेनिशा केकीको नराम्रो बानी भने भेट्टाउदिनन् ।
कविता र दीपाको १० बर्षे दोस्ती
कलाकारद्वय दीपाश्री निरौला र कविता शर्माको दोस्ती सुरु भएको १० बर्ष भैसकेको छ । उनीहरुको सम्बन्धमा कहिल्यै फाटो आएको छैन । फुर्सदको समयमा भेट्ने, सिनेमा हेर्न जाने र कार्यक्रममा पनि सँगै पुग्ने दुबैको क्षेत्र पनि एउटै भएकाले एक अर्काको साथी हुन अझ सजिलो भएको बताउँछिन् । दीपा भन्छिन्, मान्छेलाई चिन्न धेरै समय लाग्दैन । उसलाई एकै नजरले पत्ता लगाउन सकिन्छ । यसैले पनि कविता मेरो नजरमा परेकी हो ।
कविताको सत्य बोल्ने र आफुलाई माया गर्ने बानी मनपर्छ भन्छिन् दीपा । तर, एउटा राम्रो डान्सर भएर पनि आफुलाई मेन्टेन गर्न नसकेकाले कविता ओझेलमा परेको दीपाको भनाइ छ । दीपा र कविता आफूहरुको निश्चल सम्बन्ध सधैंभरि अगाडि बढ्ने दाबी गर्छिन् ।

No comments:

Post a Comment