Tuesday 16 April 2013

अब मिर्गौला, मुटु, रक्तचाप, मानसिक रोगका औषधि पनि निःशुल्क

तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरू मिर्गौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरूको औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी गरिरहेको छ ।
यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ ।
मन्त्रालयअन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका प्रमुख प्राडा आनन्दकुमार श्रेष्ठले भने, “सर्ने भन्दा नसर्ने रोग दिन प्रतिदिन बढिरहेको छ, यसलाई समयमै सम्बोधन गर्न नसर्ने रोगविरुद्धका औषधि निःशुल्क वितरणको तयारी गरिएको हो ।”
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार नेपालमा सर्ने भन्दा नसर्ने रोगका कारण धेरैको मृत्यु भइरहेको छ । सङगठनले कुल मृत्युको ४८ प्रतिशत सर्ने र बाँकी नसर्ने रोगका कारण मृत्यु हुने गरेको जनाएको छ ।
नसर्ने रोगका करिब २० देखि २५ प्रकारका औषधि निःशुल्क रूपमा वितरण हुनेछन् । मन्त्रालयले २५ शैय्यासम्मका अस्पतालहरूमा ४० प्रकार र प्राथमिक स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधिहरू निःशुल्क रूपमा वितरण गरिरहेको छ ।
आधारभूत स्वास्थ्य सेवा पुर्याउने सरकारको नीतिअनुरूप मन्त्रालयले २०६६ सालदेखि निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरणकार्य सुरु गरेको थियो । यसमा मन्त्रालयले बर्सेनि करिब रु एक अर्ब ५० करोड खर्च गरिरहेको छ ।

–रासस : Kantipur

No comments:

Post a Comment