Tuesday 9 April 2013

प्रेसर जँचाउनु भयो ?

A doctor checking a patients blood pressure.बदलिँदो सहरिया जीवनशैली, अनियमित दिनचर्याले उच्च रक्तचापको समस्या बढ्दो छ । चिकित्सकहरूका अनुसार बढी धूमपान-मद्यपान, व्यायाम नगर्नु, तनाव, गलत खानपान र असंयमित रहनसहन यसको प्रमुख कारण हो ।
'सहरी क्षेत्रमा जंक फुडको बढी सेवन र व्यायामको कमी, तनाव, धूमपान, मद्यपानले उच्च रक्तचापलाई बढाइरहेको छ,' सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले भने, 'खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन गरेर उच्च रक्तचापको समस्याबाट धेरै हदसम्म बँच्न सकिन्छ ।' विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत उच्च रक्तचापको समस्या वृद्घि हुनुमा अन्य कारक तत्त्वबाहेक तीव्र सहरीकरण, आधुनिक सहरी जीवनशैली, कृषिमा आधारित जीवनशैलीबाट ज्यालादारीमा काम गरेर जीवन बिताउने प्रक्रिया बढी सहयोगी रहेको जनाएको छ । डब्लूएचओ, दक्षिण-पूर्व एसियाका क्षेत्रीय निर्देशक डा. सामली प्लेइनवाङचाङले भने, 'प्रत्येक व्यक्तिलाई स्वस्थकर जीवनशैली, सन्तुलित आहार, खानामा नुनको कम उपयोग, नियमित व्यायाम, मद्यपदार्थको अस्वस्थकर उपयोग नगरेर, तमाखुको उपयोग छाडेर र नियमित रक्तचाप जाँचेर उच्च रक्तचापबाट बँच्न सकिन्छ ।' सहरी बासिन्दाले स्वस्थकर खानपानको बानी बसाउनुपर्ने औंल्याउँदै नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने, 'स्वस्थकर खानपानसँगै, तनावबाट मुक्ति, शारीरिक क्रियाकलापमा वृद्घि र धूमपान एवं मद्यपान त्यागेर उच्च रक्तचापबाट जोगिन सकिन्छ ।' हाल
काठमाडौंवासीमा राम्रो जीवन बिताउन बिहानदेखि रातिसम्म पैसा कमाउनका लागि गरिने धपेडीसमेत उच्च रक्तचापको कारणमध्ये एक रहेको जनाउँदै गंगालालकै कार्डियोलोजी विभागका प्रमुख डा. यादव भट्टले भने, 'अनियमित दिनचर्या, सहरी जीवनको तनाव, मानसिक शान्तिको अभाव, फास्टफुड संस्कृति र खानपानले राजधानीवासी समयअगावै उच्च रक्तचापको समस्या निम्त्याउँदै छन् ।' यस्तै रक्तचापमा वृद्घि हुने कारण मोटोपना, सास फेर्नमा अवरोध (स्लिप एपनिया), तनाव, गर्भावस्था, मधुमेह, मृगौलाको समस्या, गर्भ निरोधक चक्कीको सेवनसमेत हुनसक्छ । यतिमात्र नभई जंक फुड, धूमपान र मद्यपान, आधुनिक जीवनशैली, वंशानुगत, शारीरिक श्रमको अभाव आदिले समेत उच्च रक्तचापको समस्या निम्त्याउँछ । मुटुरोग विशेषज्ञहरूका अनुसार हालका दिनको बदलिँदो जीवनशैली लाई दृष्टिगत गरेर १८ वर्ष नाघेका युवाहरूले समेत आफ्नो रक्तचापको अवस्था जान्नुपर्छ । यदि तपाइर्ं २५ वर्षभन्दा माथिको हुनु हुन्छ भने वर्षमा दुईपटक, ३५ भन्दा माथि भए वर्षमा तीनपटक, ४५ भन्दा माथि भए चारपटक र ५५ वर्षभन्दा माथिको हुनुहुन्छ भने बर्सेनि पाँचपटक रक्तचाप जँचाउनुस् । ६५ वर्षमाथिकाले भने नियमित रूप मै रक्तचाप परीक्षण गराउनु उपयुक्त हुन्छ । रक्तचाप बढ्नुको कारण नुनको बढी सेवनसमेत रहेको उल्लेख गर्दै विशेषज्ञहरूले दिनभरिमा एक चिया चम्चा अर्थात् पाँच ग्रामभन्दा बढी नुन एक व्यक्तिले सेवन गर्न नहुने बताउँछन् । आहार यस्तो हुनुपर्छ जसले कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राखोस् । स्वस्थकर खाना खानुपर्छ । खानपानमा सागसब्जी, फलफूल, माछा आदि सामेल गर्नुपर्छ । दिनहुँ व्यायाम गर्नु मुटु स्वास्थ्यका लागि राम्रो मानिन्छ । रिस गर्नु हुँदैन, तनाव हटाउने प्रयास गर्नुपर्छ । योगा, मेडिटेसन आदिको उपयुक्त प्रयोगले तनाव हटाउन सकिन्छ । हृदयाघातका कारणमध्ये तनावसमेत छ । उच्च रक्तचाप भएकाहरूको सन्तान र आउने पुस्तामा समेत यो समस्या हुने सम्भावना हुन्छ । तर उच्च रक्तचापको पारिवारिक अवस्था भए पनि राम्रो जीवनशैली अपनाएर यो रोग लाग्नबाट बँच्न सकिन्छ । स्वस्थकर भोजन, शारीरिक गतिविधिमा वृद्घि र तनावरहित जीवन अपनाउनुपर्छ ।

Kantipur Dainik copy right 

No comments:

Post a Comment