Friday 12 April 2013

पर्वतमा नयाँ कामको थालनी

जिल्ला पशुसेवा कार्यालय पर्वतका बरिष्ठ पशुविकास अधिकृत डा दीर्घनाथ ढुङ्गानाले उदाहरणीय कामको थालनी गर्नुभएको छ ।
अधिकृत डा ढुङ्गानाले आफ्नै मोबाइबाट जिल्लावासी कृषकहरूका पशुमा हुने रोग र समस्याको बारेमा समस्या समाधान गराउन सेवा सुरु गर्नुभएको हो । सो सुरुवातपछि घरमा पशु बिरामी भएमा वा पशुमा कुनै खालको समस्या छ भने कृषकहरुले घरमै बसीबसी पशुमा भएको समस्यालाई समाधान गर्न सक्ने भएका छन् । जिल्लामा २०० व्यावसायिक कृषकहरू रहेको र प्रायजसो सबै घरधुरीमा नै पशुपालन गरिएको भएता पनि जिल्लाका सबै गाविसहरूमा सेवा केन्द्रहरू नभएको र सबै सेवा केन्द्रमा विशेषज्ञ सेवा दिन नसकिएका कारण कृषकहरूलाई सहजताका लागि मोबाइलबाट नै सेवा सुरु गरिएको डा ढुङ्गानाले बताउनुभयो ।
“अब छिटै नै टोल फ्री नम्बरबाट सेवा दिने सोच बनाएका छौं” उहाँले भन्नुभयो, “टोल फ्री नम्बर सञ्चालन नगर्दासम्म मेरो आफ्नै मोबाइल नम्बरबाट सेवा उपलब्ध गराएको छु ।” अहिले कृषकहरूलाई समस्या भएमा आफ्नो मोबाइल नम्बर ९८५७६३०८५५ मा सम्पर्क गरेर समस्या जानकारी लिने र समाधानका लागि उपचार पद्धति र औषधिसमेत सिफारिस गर्ने गरेको उहाँले बताउनुभयो ।
जिल्लाका ५५ गाविसलाई लक्षित गरी १२ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको भएपनि सबै गाविसमा कृषकहरूलाई सहज पहुँच पुग्न नसकेका कारण मोबाइलबाट भएपनि सेवा दिन यस्तो अभियान चलाएको ढुङ्गानाको भनाइ छ ।
उहाँले मोबाइलबाट दैनिक जसो १०० देखि २०० जना कृषकहरूलाई सल्लाह र सुझाव दिने गरेको र यो सेवा प्रभावकारी भएको उल्लेख गर्नुभयो ।
पशुहरू बिरामी भएमा कार्यालयसम्म ल्याउन समस्या हुने भएकाले गाउँमै रहेका सेवा केन्द्रका प्राविधिक वा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तासँग सम्पर्क गराउने गरिएको र जटिल समस्या भएमा भ्याएसम्म आफूसमेत पुग्ने गरेको डा ढुङगानाले बताउनुभयो ।
अहिले मोबाइलमा कुरा गर्दा पैसा लाग्ने भएकाले टोलफ्री नम्बर सुरु भएपछि पैसा नलाग्ने हुदा अझै प्रभावकारी हुने उहाँको भनाइ छ । जिल्लाका विभिन्न गाविसहरूमा व्यावसायिक तथा घरायसी प्रयोजनका लागि पशु पालिएकाले हरेक कृषकहरूसम्म पशुसेवा कार्यालयको सेवा दिन जरुरी भएकाले यस्तो सेवा सुरु गर्नु जरुरी रहेको डा ढुङ्गानाले बताउनुभयो । वहाँले कार्यालय समयमा मात्रै नभएर विहान ६ वजेदेखि साँझ १० वजे सम्म पनि कृषकका समस्याबारे सूझाव र सरसल्लाह दिदै आएको बताउनुभयो ।
नयाँ काम गर्ने सोँच कहाँबाट आयो भन्ने सन्सारन्यूजको जिज्ञासामा उहाँले ऐक्यवद्धतासंग भन्नुभयो “स्वतःस्फूर्त रुपमा केही नयाँ काम गरी किसानहरुलाई सेवा दिनुपर्छ भन्ने सोचले यो सेवा दिन थालेको हुँ ।” उदाहरणीय यस थालनीले कहिलेसम्म निरन्तरता पाउने हो र कस्तो रुप लिने हो भन्ने कुरा हेर्न भने बाँकी छ ।
Copyright : sansarnews

No comments:

Post a Comment