Tuesday 7 May 2013

ढंग पुर्‍याएर चोरिएको कथा

manjari 'ओइ फोहोरी केटा, मलाई तिमी मनपर्‍यो ।' धनी गुन्डा बुबाकी एक्ली छोरी मन्जरी (सुजाता) ले मोटरसाइकल वर्कशपमा काम गर्ने फोहोरी केटा ईश्वर (गौरव) लाई मन पराउनु नै  फिल्म 'मञ्जरी' को मूलकथा हो । आर्थिकदेखि जातीयस्तरको बेमेलले गर्दा प्रेम जोडीबीच आइपर्ने अवरोध प्रायः फिल्मका चल्तीका मसला हुन् ।
'मञ्जरी' कथा सामान्य मात्रै नभई सन् २००८ को सर्वाधिक कमाइ गरेको बंगाली फिल्म 'चिरोदिनी तूमी जे अमर' बाट हुबहु उतारिएको हो । अभिमन्यु मुखर्जीको स्त्रिmप्ट रहेको बंगाली फिल्ममा मोटरसाइकल वर्कशपमै काम गर्ने सिलिगुडीको कृष्णको त्यहीँकी एक स्कुले युवती पल्लवीसँग आँखा जुध्दाजुध्दै घनिष्ठ प्रेम बस्छ । र, कृष्णले पल्लवीलाई भगाएर कोलकाता लान्छ । भगाउँदा प्रेमिकालाई घडी समेत फुकालेर -घरको केही पनि नल्याई) आउन भनेको कृष्णले सहरमा साथीभाइको सहयोगले बिहे गर्छ । तर केटीका गुन्डा प्रवृत्तिको बाबु र अंकलले भने उनीहरूलाई फेला पार्छन् र फिर्ता ल्याउँछन् । त्यसपछि फिल्मले दर्दनाक अन्त्य लिन्छ । निर्देशक गणेशदेव पाण्डेकै लेखन भनिएको फिल्म 'मञ्जरी' उक्त कथाबाट किञ्चित फरक छैन । फरक छ केवल पात्र, भाषा, स्थान र फिल्म युनिट ।
'मञ्जरी' मा भर्खर १७ मा टेकेकी मञ्जरी पनि ईश्वरको मायामा एकोहोरिएपछि घरबाट कपडा समेत नलिइकन भाग्छे । बंगाली फिल्ममा झै मञ्जरीले एक कपडा पसलमा गएर केटाका पहिरन किनेर लगाउँछे र बुटबलदेखि भागेर काठमाडौं आउँछन्, बिहे गर्छन् । तर यहाँ पनि गुन्डा प्रवृत्तिकै बाबु र अंकलले पक्रेर फिर्ता लान्छन् र अन्त्य उस्तै हुन्छ ।यसअघि 'मञ्जरी' फिल्मले कथालाई आफ्नै दाबी गरेको थियो । स्क्रिप्टको  इमान्दारितामा चुकेको भए पनि निर्देशक पाण्डेले 'मञ्जरी' ढंग पुर्‍याएर चोरेका छन् । कम्तीमा फिल्म हेर्दा दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्न उनी सक्षम छन् । पुराना चलेका फिल्मको कपिराइट स्वीकृति लिएर यतिबेला रिमेक फिल्म बनाउने चलन बढ्दो छ । 'मञ्जरी' ले पनि सोही बाटोमा आफूलाई प्रस्तुत गरेको भए कम्तीमा चोरीको ट्यागबाट बच्न सक्थ्यो । तर फिल्म गीत/संगीतदेखि नै चोर्नमा प्रेरित छ । प्रवृत्ति गलत भए पनि नेपाली रूपान्तरण भने फिल्मको सबल पक्ष हो । निर्देशक पाण्डेले टिनएजर लभर्सका लागि नयाँ कलाकार गौरव र सुजाताबाट गजबको काम लिन सफल छन् । यी दुई मुख्य कलाकारको अभिनयले दर्शकलाई हलचल गर्न दिँदैन । चरित्र अभिनयमा यी दुवै भविष्यका जबरजस्त कलाकार हुने छनक देखिन्छ । फिल्ममा ईश्वरको हेल्परको रूपमा अभिनय गरेका बालकलाकार सुरज थापाले पनि असाधारण अभिनय गरेका छन् । कतिपय क्यामेरा प|mेम पनि हुबहु मिल्ने भएकाले छायांकन उत्कृष्ट हुँदाहुँदै पनि जस पाउने एक्लो अधिकार महेश पौडेलले गुमाएका छन् । फिल्मको पाश्र्व संगीत पनि राम्रो छ । फिल्म 'मञ्जरी' हेर्न लायक फिल्म हो । कुर्कुरे बैंसमा गरिने आवेगको निर्णयलाई सहज निकास दिन नसक्ने प्रेमी- प्रेमिका वा पहिलो प्रेमको आत्मीयतालाई स्तरको तराजुमा दाँजेर विच्छेद गराउने परिवारबीचको द्वन्द्व हाम्रा आफ्नै भोगाइ झैं लाग्छन् । यसलाई कलाकारको जीवन्त अभिनयले थप निखार दिलाएको छ । गीत/संगीतले सौन्दर्य थपेको छ । 'मञ्जरी' ले गतिलो दर्पणको काम गरेको छ । स्थानीयकरण गर्न सक्नुले फिल्मलाई भने नक्कली हुनबाट जोगाएको छ । बौद्धिक सम्पत्तिको दुरुपयोगले एक पाटोमा बहस सुरु गर्ला तर दर्शकका लागि 'मञ्जरी' ले सुन्दर प्रेम कहानीको आभास भने दिलाउनेछ ।

No comments:

Post a Comment