Monday 6 May 2013

कालीगण्डकीमा सञ्चालित जल यातायात बन्द

स्याङ्जाको मिर्मीस्थित देशकै ठूलो जलविद्युत् गृह कालीगण्डकी ‘ए’ को बाँध निर्माणका क्रममा बनेको जलाशयमा चल्ने जिल्लाकै एकमात्र जल यातायात (स्टिमर) स्थानीय क्लबको आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएको छ ।
स्थानीय पिँढीखोला गाविस-८ स्थित जोगिमारामा रहेको जनसुधार युवा क्लबले विभिन्न चारसूत्रीय माग राखी आन्दोलनमा उत्रिएपछि आँधीमुहानदेखि सेतीवेणीसम्मको सात किलोमिटर जल यातायात अनिश्चितकालका लागि बन्द भएको हो । आन्दोलनका कारण स्टिमर बन्द हुँदा त्यस क्षेत्रका हजारौँ सर्वसाधारण मर्कामा परेका छन् । क्लबका अध्यक्ष टेकबहादुर क्षत्रीका अनुसार क्लबले स्टिमरमा यात्रा गर्दा अनिवार्य लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने, स्टिमर उपभोक्ता समिति गठन गरी यातायातको भाडा निर्धारण गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु हालेर यात्रा गराउन नपाइने, ३० किलो सम्मको सामान ढुवानी निःशुल्क गर्नुपर्ने, दृष्टिविहीन, अपाङ्ग, अशक्तहरूलाई विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका माग राख्दा स्टिमर सञ्चालक संस्था शिला शालिग्राम शिला जल यातायात व्यवस्थापन समितिले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको हो ।
यता सञ्चालक संस्था शालिग्राम शिला जल यातायात समितिका अध्यक्ष चन्द्रबहादुर रानाले भने क्लबले राखेका कतिपय माग पूरा गर्न नसकिने भएकोले बाध्य भएर गएको वैशाख १८ गतेदेखि यातायात बन्द गर्नुपरेको बताउनुभयो ।“क्लबका साथीहरूले हामीसँग प्रतिस्टिमर रु दुई सयका दरले टिप शुल्क क्लबलाई मागेको थियो”- यातायात समितिका अध्यक्ष रानाले भन्नुभयो-”हामीले जिल्ला विकास समिति स्याङ्जालाई वाषिर्क कर तिर्ने गरेका छौँ, क्लबलाई टिप शुल्क तिर्न सक्दैनौँ भनेपछि अन्य माग राखेर हामीलाई अवरोध पुर्‍यायो ।” कालीगण्डकीको जलाशय बनेपछि स्थानीय सर्वसाधारण, कालीगण्डकी ‘ए’ का पदाधिकारी बसेर बनाएको विधानभन्दा बाहिर गएर हामीले केही गर्न सक्दैनौँ भनेर क्लबका पदाधिकारीहरूलाई जानकारी गराएको अध्यक्ष रानाले बताउनुभयो ।
रासस - Onlinekhabar

No comments:

Post a Comment