Monday 6 May 2013

रिसाउनुपूर्व एकपटक सोचौं !

क्रोध मस्तिष्कमा उत्पन्न हुने एउटा आवेग हो। मस्तिष्कको संरचना नै यस्तो हुन्छ जसमा आवेग आइरहन्छ। आवेग दिमागमा दह्रो डेरा जमाएर बसेको हुन्छ र त्यो व्यक्तिको स्वभावको अङ्ग नै बनिसकेको हुन्छ। रिसको एउटै कारणका पछाडि दुई व्यक्तिका भिन्न-भिन्न प्रतिक्रिया हुन्छन्-कोही रिसले रातो-पिरो, भएर मर्ने-मार्नेसम्म उत्रन्छन् भने कोही त्यसलाई सरलताका साथ निवारण गर्छन्। यो भिन्नता व्यक्तिको मस्तिष्कमा बसेको संस्कारका कारण हो। मनको जटिलता पनि हाम्रो क्रोधी स्वभावको कारण हुनसक्छ। जब हाम्रो मस्तिष्क कुनै जटिलतामा अल्झन्छ, तब हामी त्यसको रिस अन्य व्यक्तिमाथि पोख्न खोज्छौं। रिसाउने अधिकांश कारण अत्यन्त सामान्य र साना हुन्छन्। कतिपय रिस त आधारहीन नै हुन्छन्। बिनाकारण पनि हाम्रो मस्तिष्कमा रिस आएर बस्न सक्छ। रिसका बेलामा राम्रो कुरा सोच्ने फुर्सद पनि हुँदैन। सबैभन्दा नराम्रो कुरा त आफ्नो रिस निर्दोष व्यक्तिमाथि पोख्नु हो। रिसको परिणाम कहिल्यै राम्रो हुँदैन। अफिसमा काम बिगारेर घर आएर छोराछोरीलाई गाली गर्नु अथवा घरमा झगडा गरेर स्कुल गै विद्यार्थीमाथि रिस पोखेका घटनाहरू हामीले सुन्दै, देख्दै अनि भोग्दै आएका छौं। रिसको यस्तो आवेगले कसैलाई फाइदा गर्दैन। रिसको घनिष्ट सम्बन्ध अस्थिरता, क्षणिकता, उद्वेग, अहंकार, असहिष्णुता आदि मनका अन्य विकारहरूसँग हुन्छ। रिसलाई मनभित्र दबाएर लामो समयसम्म राख्दा अझ ठूलो हानि हुन्छ।
निवारण 
सात्विक आहार, प्रसन्नता एवं शान्त विचारले रिसलाई जित्न सकिन्छ । रिसलाई शान्त पार्ने केही उपाय यसप्रकार छन् :
*रिस सधैं हतारको परिणाम हो। यदि कुनै नराम्रो काम भैरहेको देखियो अथवा आफूलाई मन नपर्ने कार्य कसैले गरिरहेको छ भने त्यसको पूर्ण कारण नबुझी अथवा जानकारी नलिई रिसाउनुहुँदैन। नचाहिने कुरामा कसैसँग रिसाएर शत्रुता मोल्नु राम्रो होइन। 
*रिस उठिहाल्यो भने चिसो पानीले अनुहार धोएर चिसै पानी पिउन सकिन्छ। यसले रिसलाई शान्त पार्न मद्दत गर्छ।
*आफ्ना कुराहरूलाई स्पष्ट, सरल एवं संक्षिप्त रूपमा व्यक्त गर्नुपर्छ। व्यंग्यपूर्ण भाषा प्रयोग गर्नुहुँदैन। 
*रिसाएको अवस्थामा पनि मानसिक सन्तुलन कायम राख्नुपर्छ। रिसको बेला धैर्य, संयम एवं सहनशीलताले काम लिनुपर्छ। 
*कसैले आफूमाथि रिस पोख्छ भने चुप लागेर सुनिरहनुपर्छ। उसले सम्पूर्ण कुरा बोलिसकेपछि मात्र आफ्ना कुरा व्यक्त गर्नुपर्छ। यस्तो बेला दुवैजना आगो हुने हो भने झगडा चर्कन्छ । त्यसैले आफूसँग रिसाएको व्यक्ति शान्त भएपछि वास्तविक कुरा भन्नुपर्छ । यताका कुरा उता र उताका कुरा यता सुनाउने तथा भड्काउने व्यक्तिहरूबाट सावधान रहनुपर्छ। त्यस्ता व्यक्तिहरूको कुनै पनि कुरा पत्याउनुहुँदैन। 
*कसैले आफूप्रति अपशब्द प्रयोग गरे भने एक कानले सुनेर अर्को कानले उडाइदिनुपर्छ। त्यस्ता कुराहरू बारम्बार सम्झनुहुँदैन अर्थात् मनमा पाल्नुहुँदैन।
*रिसलाई मस्तिष्कमा राख्नु भनेको आफंैले नोक्सान बेहोर्नु हो । शान्तिले काम गर्दा नै लाभ हुन्छ। हाम्रा प्राचीन धर्मशास्त्र तथा नीतिग्रन्थहरूमा रिसलाई विनाशकारी ठहर्‍याइएको छ।

No comments:

Post a Comment