Sunday 31 March 2013

सेमिफाइनल पुगेसँगै नेपाल ट्वान्टी-२० विश्वकप छनोटमा

news-final नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई १ सय २१ रनले पराजित गरेपछि नेपाल समूह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश मात्र गरेन, नोभेम्बरमा हुने ट्वान्टी-२० विश्वकप छनोट खेलका लागि छनोट भएको छ ।
एक दिवसीय मान्यता प्राप्त अफगानिस्तान र आयोजक युएई सोझै छनोट चरणमा पुगेकाले शीर्ष चारमा पुगेका बाँकी दुई टोली पनि विश्वकप छनोट खेल्न पाउने भएका हुन् । जस अनुसार नेपालसँगै हङकङले पनि विश्वकप छनोट खेल्ने भएको हो ।
टेष्ट नखेल्ने १६ देशले खेल्ने छनोट खेलको शीर्ष ६ टोलीले बंगलादेशमा सन् २०१४ मा हुने ट्वान्टी-२० विश्वकप खेल्नेछ । नेपालले विश्वकप छनोट खेल्न लागेको यो दोस्रो पटक हो । अघिल्लो संस्करणमा नेपाल छनोट चरणमा सातौं भएको थियो ।

एसीसी ट्वान्टी-२० कपको सेमिफाइनलमा नेपालले मंगलबार समूह बीको विजेता युएईसँग खेल्ने छ भने अफगानिस्तानले समूह ए को विजेता हङकङ प्रतिद्वन्द्वी पाएको छ ।
नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याएको सिंगापुर १५ दशमदव १ ओभरमा ८९ रनमा अल आउट भयो र नेपाल १ सय २१ रनले विजयी भयो । यो ट्वान्टी-२० क्रिकेटमा नेपालले हात पारेको सबैभन्दा फराकिलो जित हो ।
उसलाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले १७ रन दिएर ३ विकेट लिए भने शक्ति गौचनले २ तथा कप्तान पारस खड्का, चन्द्र साउद, सागर पुन र पृथु बास्कोटाले समान १-१ विकेट लिए । सागरको यो डेब्यू म्याच हो ।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकटको क्षतिमा २ सय १० रन बनायो । यो जारी प्रतियोगिताकै र ट्वान्टी-२० क्रिकेटमा नेपालले बनाएको ठूलो स्कोर हो ।

बिनोदको अर्धशतक

नेपालका लागि विनोद भण्डारीले अर्धशतक बनाए । ३४ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका हाने । यस्तै कप्तान पारस खड्काले ४४ रन बनाए भने प्रदीप ऐरी र ज्ञानेन्द मल्लले समान ३०/३० रन बनाए । निकै आक्रामक व्याटिङ गरेका उपकप्तान ज्ञानेन्द्रले १० बलमा ४ छक्का र १ चौकाको मदतमा ३० रन बनाएका हुन् 
यस्तै सरद भेसवाकरले ९ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पृथु बास्कोटा ९ रनमा अविजित रहँदा सुवास खकुरेलले ५ रन जोडे ।
खेलपछि प्रशिक्षक पुबुद्धु नशानायकले सोचेअनुसार नै जित हात पारेको बताए । सागर पुनले राम्रो खेलेको भन्दै उनले समग्रमा सबैले राम्रो खेलेको प्रतिक्रिया दिए । यूएईसँगको सेमिफाइनल भेट नेपालका लागि अबसर रहेको भन्दै उनले भने-’यूएईसँग खेल्न हामी ब्यग्र छौं ।’ कप्तान पारस खड्काले पनि आजको खेलप्रति सन्तुष्टी जनाए ।

No comments:

Post a Comment