Sunday 31 March 2013

एउटै फूलका लागि एक लाख खर्च


flora
फूलमा माहुरी र भवँरा मात्रै होइन, मानिसहरुको पनि विशेष आकर्षण छ भन्ने पछिल्लो प्रमाण बनेको छ, भृकुटीमण्डपमा जारी पुष्प मेला । भनिन्छ, फूलमा महिलाहरुको विशेष आकर्षण हुने गर्छ । तर, विहीबारदेखि राजधानीमा शुरु भएको पुष्प मेलामा भने पुरुषहरुको समेत विशेष आकर्षण देखिएको छ । अझै रोचक त एउटै प्लान्टलाई एकलाख रुपैयाँसम्म तिर्ने ग्राहकसमेत भेटिएका छन् ।
‘रंगी-विरंगी फूलहरुले घर, होटल तथा अफिस सजाउने संस्कृति नेपालीहरुमा बढ्दै गएको छ’ नेपाल फ्लोरिकल्चर एशोसियसन (फ्यान) का कार्यक्रम संयोजक जेवी तामाङले भन्नुभयो- ‘पछिल्लो समय नेपालीहरुले विभिन्न प्रजातिका फूलहरुमा लाखौं रुपैयाँ खर्च गर्न थालेका छन् ।’
नेपालमा फूल प्रेमीहरुको संख्या हृवात्तै बढेको पुष्प व्यवसायीहरु बताउँछन् । उनीहरुले फूलमा ठूलो रकम समेत खर्चिने गरेका छन् । फूलका सौखिनहरुले एउटै शो-प्लान्टलाई १ लाख रुपैयाँभन्दा बढी रकम खर्चिने गरेको पुष्प व्यवसायीहरुको अनुभव रहेको छ । राजधानीको भृकुटीमण्डपमा बिहिबारदेखि आयोजना भएको पुष्प मेलामा विगतको तुलनामा निकै बढी फूलप्रेमीहरु किनमेल तथा अवलोकनका लागि आएको आयोजक ˆयानले जनाएको छ । अहिले भृकुटीमण्डपको प्रर्दशनी हल रंगी-बिरंगी फूलमय भएको छ ।
फूलमा पुरुषको आकर्षण बढ्दो !
विशेषगरी फूलका सौखिनहरु बढी महिला हुने गरेको देखिए पनि पछिल्लो समय पुरुषहरुको ठूलो संख्या फूलतर्फ आकषिर्त भएको छ । पुरुषहरु आफै मेला तथा नर्सरीमा आई फूल किनेर लैजाने र घर, अफिस तथा होटल-रेष्टुरेन्टमा लगाउने गरेको व्यवसायीहरुले बताएका छन् । ‘मैले घरमा फूल लगाउन वाषिर्क लाखौं रुपैयाँ खर्च गर्छु’ न्यू कोलोनीबाट श्रीमतीसँग मेलामा फूल किन्न आएका योगेश्वर रोमखामीले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो- ‘मेलामा १५ हजारको फूल किनिसकेँ, अझै हेरिरहेको छु ।’
एक लाख रुपैयाँ बढीका फूल तथा प्लान्टहरु !
नर्सरीहरुमा १० रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा बढी पर्ने फूल तथा बन्साइ प्लान्टहरु उपलब्ध छन् । महंगा फूल तथा बन्साई प्लान्टहरु होटल-रेष्टुरेन्ट र अफिसहरुमा बढी प्रयोग गर्ने गरेको व्यवसायीहरुको भनाइ छ । कतिपय घरानियाहरुले महंगा फूल तथा बन्साइ प्लान्टहरु पनि घरमा लगाउने गरेका छन् । फूल प्रेमीहरुको संख्या बढ्दै गएपछि व्यवसायीहरुको पनि संख्या बढ्दै गएको ˆयानले बतायो ।
मेलामा ८ सय रुपैयाँदेखि ३५ हजारसम्मका अर्किड जातको फूलहरु रहेको बताउँदै लभ्ली पेट्स नर्सरीका संचालक सम्भु आचार्यले भन्नुभयो- ‘अर्किड फूलको विक्री उत्साहजनक रुपमा भइरहेको छ । त्यसो त मेलमा बन्साइ प्लान्टहरुको पनि राम्रो विक्री भईरहेको छ । रोज डेल नर्सरीले दिएको जानकारी अनुसार मेलामा बन्साइ प्लान्टहरुको अर्डर दिएर जानेहरुको संख्या पनि उच्च रहेको छ ।
पुष्प मेलामा भिडभाड !
मेलामा सर्वसाधारणको भिडभाड लागेको छ । दुई दिनमा २३/२४ हजार अवलोकनकर्ता मेलास्थल आइसकेको बताउँदै ˆयानका कार्यक्रम संयोजक तामाङ धेरैजसो व्यवसायीहरुका नियमित ग्राहकहरु भएको जानकारी दिनुभयो । मेलामा आएका करिव ८० प्रतिशत अवलोकनकर्ताहरुले कुनै नै कुनै पुष्पजन्य वस्तुहरु किनेर लगेको उहाँले बताउनुभयो । बन्साइ प्लान्ट र अर्किड फूलमा सबैभन्दा बढी उपभोक्ता आकर्षण भएका छन् । विगतका वर्षमा आयोजना हुने मेलामा शनिबार र विदाको दिनमात्र सर्वसाधरणको भिडभाड लाग्ने गरेकोमा यस वर्ष विदा नभएको दिनपनि उत्तिकै भिडभाड लागेको तामाङले बताउनुभयो ।
बाँसबारीबाट मेला हेर्न तथा किनमेल गर्न आउनुभएकी गोमा बस्नेतले फूल किन्नका लागि १२/२० हजार रुपैयाँ छुट्टाएर आएको बताउनुभयो । सबै प्रजातिका फूलहरु एकै ठाउँमा पाइने हुँदा हरेक वर्ष आयोजना हुने पुष्प मेलामा आउने गरेको उहाँको भनाइ थियो । विगतका वर्षहरुको तुलनामा यस वर्ष फूलहरु अलि महंगो भएको उहाँको गुनासो थियो ।
साढे ४ सय प्रजातिका फूल !
६१ वटा स्टलहरु रहेको मेलामा ४ सय ५० भन्दा बढी प्रजातीका अलंकारीक फूल तथा बोटबिरुवा प्रर्दशन तथा विक्रीमा राखिएको छ । मेलामा मौसमी फूल, अलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउविजन, कृषि औजार, उपकरण प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रविधि र विषदीका सामाग्रीहरु प्रर्दशन तथा विक्रीमा राखिएको छ ।
वाषिर्क एक अर्ब बढीको कारोबार
एक दशक अगाडिसम्म विदेशी फूल तथा विरुवाहरुमा निर्भर हुनुपरेकोमा अहिले कुल आन्तरिक मागको ८५ प्रतिशत माग स्वदेशी उत्पादनले पूरा गरेको ˆयानले बताएको छ । ˆयानका अनुसार सन् २०१२ मा १ अर्ब ५ करोडभन्दा बढीको फूलको कारोबार भएको छ । सन् २०११/०१२ को तथ्याङ्क अनुसार १० करोडभन्दा बढीको पुष्पजन्य वस्तु निर्यात भएको छ । विस्तारै पुष्पजन्य वस्तुहरुमा नेपाल अत्मनिर्भर हुँदै गएको ˆयानका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो ।
पुष्प व्यवसायमा साढे ४ अर्बको लगानी !
नेपालको पुष्प व्यवसायमा साढे ४ अर्बको लगानी भएको ˆयानका अध्यक्ष गैरेले बताउनुभएको छ । परम्परागत पुष्प खेतीलाई आधुनिकिकरण गरेर पुष्प खेतीलाई व्यवसायीकरण गर्नुपर्ने उहाँको भनाई छ । पुष्पजन्य वस्तुहरुको निर्यात बढाउन उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पुष्प व्यवसायमा ३ प्रतिशतमात्र बैंकिङ लगानी रहेको बताउँदै उहाँले बैंकिङ लगानी बढाएर बृहत उत्पादनमा जानुपर्ने बताउनुभयो । पुष्प व्यवसायमा ६० प्रतिशतभन्दा बढी महिलाहरु संलग्न रहेका छन् ।

No comments:

Post a Comment