Thursday 26 September 2013

"मलाइ राजनिति भन्दा समाजसेवामा रुचि छ"

रेखा थापा - नायिका
विगत लामो समय देखि नेपाली रजतपटमा जगमगाएकी नायिका रेखा थापाको नेपाली चलचित्र क्षेत्रमा एउटा विशिष्ट परिचय छ । डेढ सय भन्दा बढी चलचित्रमा भुमिका निर्वाह गरेकी थापाले आफ्नै निर्माणमा ९ वटा चलचित्र निर्माण गरिसकेकी छन्, समसामयिक बिषय संग सम्बन्धित रहेर मुकुन्द ढुंगानाले नायिका रेखा थापासंग गरिएको कुराकानी –
के गर्दै हुनुहुन्छ आजकल ?
आजकल म मेरो नयाँ फिल्म कालीमा व्यस्त छु । काली असोजको २५ गते दर्शकहरुमाझ आउदैछ । रेखा फिल्मसले सधै दशै ताका फिल्म रिलिज गर्दै आएको छ! 
तपाईको जन्मस्थान र बाल्यकालका विषयमा केहि बताइदिनुहोस न् ?
म मोरङमा जन्मिएको हुँ । बाल्यावस्था मेरो मोरङमा नै बित्यो । १५ बर्षको उमेरबाट म काठमाडौ निवासी भए ,कतिखेर काठमाडौको हावापानीले छोयो थाहा नै भएन् । बाल्यकाल सामान्य तरिकाले नै बित्यो । 
मोरङमा बाल्यकाल बिताउँदाका अनुभवहरु कस्ता छन् ?
म घरकी सबैभन्दा कान्छि छोरी हुँ । हाँसो खुसिमै बाल्यकाल बित्यो । पूर्ण मायामा हुर्किएको थिए म । 
पढाईको सिलसिला कहाँबाट सुरु भयो ?
मोरङमा द राइजिङ बोर्डिङ स्कुल छ ।  मैलै त्यहि पढेको हुँ । मैले त्यहि बाट एसएलसि दिएको हुँ । २०५७ सालमा मैले एसएलसि दिएको हुँ । 
त्यसपछि काठमाडौ बस्नु भयो कि मोरङ बसेर पढ्नु भयो ?
एसएलसि दिँदा पनि म काठमाडौ मा बस्थे र एसएलसि दिएपछि पनि म काठमाडौ नै बसे । एसएलसि दिँदा म सोह्र बर्षकी थिए । त्यति बेदा नै मैले हिरो फिल्म खेलेको हुँ । एसएलसि संगसंगै फिल्म क्षेत्रमा लागे ,त्यति बेला नै म मोडलिङ पनि गर्ने गर्दथे । नौ कक्षामा पढ्दाका बेला भएको गर्मि बिदाका बेला बाट मैले मोडलिङ सुरु गरेकी हुँ । 
कलिलै उमेरमा फिल्म क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
मानिसको आआफ्नो दृष्टिकोण हुन्छ । यो कुरामा मानिसहरु अनभिज्ञ हुन्छन् जस्तो लाग्छ मलाई । यदि म कलाकारीता क्षेत्र बाहेक अन्य पेशा अपनाउँथे भने त्यो पेशासंग सम्बन्धित भएर मैले अध्ययन गर्नु जरुरी हुन्थ्यो,तर मेरो चाहना कला क्षेत्रमा आउनु भएको हुँदा मैलै ९ कक्षा बाट नै कलाकारीता पेशा सुरु गरेको थिए । यदि त्यो समयमा यदि मैले सुरु नगरेको भए आज यो उमेरमा आउँदा समेत मैले संघर्ष गरिरहनु पर्ने हुन्थ्यो । किनभने अहिले पनि मेरा उमेरका मेरा समकालीन मित्रहरुले संघर्ष गरिनै रहनु भएको छ । यो कलाकारीता क्षेत्र यस्तो क्षेत्र रहेछ जहाँ मानिस आएर सिकेर यहिँ बुढो हुँदो रहेछ, भन्नुको मतलव अन्य पेशामा लाग्ने मानिसहरु अध्ययन सकेपछि मात्रै पेशामा लाग्छन् तर यो कलाकारीता क्षेत्र यस्तो क्षेत्र हो कि काम गर्दै सिक्न सकिन्छ । हाम्रो पेशा १६,१७ बर्षको उमेरबाट सुरु हुन्छ र २४,२५ बर्षको उमेरमा पुग्दा समेत चलिरहेको हुन्छ । अहिले पनि मेरो संघर्ष चलिनै रहेको छ । 
रेखा थापाले एउटा स्त्रिप्ट लेख्दा कति समय दिनुहुन्छ ?
प्रशस्त मात्रामा समय दिनुपर्ने हुन्छ । छ महिना १ बर्ष २ बर्ष सम्म पनि लाग्न सक्छ । तर त्यसका विषयमा भने पहिला देखि नै तयारी भने रहने गर्दछ । एउटा स्त्रिप्टका लागी पनि धेरै मेहेनत गर्नु पर्ने हुन्छ । 
असोजको २५ गतेबाट तपाईको फिल्म काली रिलिज हुँदै छ,कालीमा अन्य चलचित्रमा भन्दा फरक के छ ?
काली फिल्म एउटा सत्य युगकि देवि हुनुहुन्छ,आज पनि हामिले काली मातालाई सम्झदै आएका छौ । आज मैले त्यो काम गरे भने भोली मलाई पनि भावि पुस्ताले  सम्झिने छ । त्यो समयमा काली माता पनि त महिला नै थिइन नि । त्यो समयमा पनि एउटी महिलाले सामाजिक अन्याय अत्याचार विरुद्ध लडेर वध गरेकि थिइन । तर आज आएर हामि ३३ प्रतिशतको माग तथा नारी पुरुष बराबरी हुनु पर्ने नारा लगाइरहेका छौ । इतिहासले महिला  पुरुष भनेर छुट्याएको छैन । काली माताले पनि त द्ष्टलाई मारेपछि मेरो पुजा हुन्छ भनेर त मारेकि हैननु । उनि पनि त महिला थिइन,त्यस्तै आज हामि पनि ३३ प्रतिशत माग्ने हैन । हामिले पढ्दा पुरुष पनि सँगसँगै पढिरहेका हुन्छन् किनभने यसका लागी फरक फरक कोटा त हुँदैन । भने जस्तै अहिलेको परिप्रेक्ष्मा जुन लैँगीक विभेद चलिरहेको छ त्यो हुनु जरुरी छ जस्तो मलाई लाग्दैन । हामि महिला शसक्त छौ तर हाम्रो अस्तित्वलाई सिकार गर्न सकिएको छैन । हामि हरेक क्षेत्रमा समान छौ  शसक्त रुपमा काम पनि गर्न  सक्छौ । हामिले केहिका लागी पनि कुनै पुरुषसँग आश्रित हुनु आवश्यक छैन । किनभने सबै महिला भित्र कालीको रुप छ । त्यो रुपलाई स्विकार्न सक्नुस ,आत्मा आलोचना गर्न सिक्नुस भन्ने खालको सन्देश कालीले दिएको छ । मैले यसो भनिरहँदा रेखा थापा महिला अधिकारवादी हो भन्ने पनि नमान्नुहोला । म महिला पुरुष दुवैलाई सम्मान गर्ने मान्छे हुँ । किनकि मेरी आमा महिला हुन मेरो बुवा पुरुष हुन् । त्यसकारण म बराबर सम्मान गर्छु । मैले उठाउन खोजेको कुरा यति मात्रै हो कि पुरुष यसै पनि सक्षम छन् । उनिहरुलाई स्वतन्त्रता छ ,महिला पनि स्वतन्त्र हुन सक्छन् तर त्यसका लागी आफु तयार हुनु पर्छ । 
किन नेपाली महिलाहरु प्रतिकार गर्न सक्षम छैनन् त ?
शायद यसको दोष हामि आफैलाई पनि जान्छ किनभने हामि आफु पनि आफुमा निर्भर हुन सकिरहेका छैनन् । जब सम्म महिलाहरु आत्मनिर्भर हुदैनन् जबसम्म आफ्नो पौरख खान सक्दैन तबसम्म प्रतिकार गर्ने क्षमता हुँदाहुँदै पनि लड्न सक्दैनन् । लोग्नेको कमाइृ हेपिएरै खाएपनि प्रतिकार गरेर जाने कँहा त ? ,यदि महिला आत्मनिर्भर छे भने साँच्चै नै अन्यायमा परेकि छे भने उसले त्यति बेला मात्रै प्रतिकार गर्न सक्छे । तर सम्पूर्ण नेपाली महिलाको अवस्था त्यस्तो छैन । त्यसकारण यस्ता चलचित्र बनाउनुको कारण महिलाहरुलाई उर्जा दिनका लागी हो । भोली विवाह पछि पनि लोग्नेकै कमाई खानुपर्छ भन्ने जरुरी छैन् । यस्तै कुराहरु लिएर काली आृउदैछ । 
तपाईको विचारमा अबका महिला कस्ता हुनु पर्ला ?
इतिहासले बताएको छ हिजो मातृसत्तात्मक समाज थियो । विस्तारै विस्तारै हाम्रो आफ्नै कारणले गर्दा पितृ सत्तात्मक परिवेशको निर्माण भयो । अहिले पनि बेलायतमा हेर्ने हो भने महिलाले नेतृत्व समालेकि छन् । तर हाम्रो नेपाली समाजमा महिलाको भुमिका पुरुषको सरह हुनु पर्दछ । पुरुषलाई गाली गर्ने र्हन ,पुरुषले भन्दा राम्रो काम गर्ने क्षमता हामि संग छ । हामिले के बिर्सि रहेका छौ भने हाम्रै कोखबाट पुरुष जन्मिएको हुन्छ । त्यहि आफुले जन्माएको पुरुषसंग हामिले प्रतिस्पर्धा गरिरहनु पर्दैन । हामि पुरुष भन्दा माथि नै छौ । पुरुषसंग प्रतिस्पर्धा गरेर महिला कहिलै पनि माथि जाँदिन । तर पुरुषको सरह काम गर्ने क्षमता हुँदा हुँदै पनि कतिपय ठाउँमा हामि बञ्चित छौ । त्यो नभइकन हरेक क्षेत्रमा समान अवसर भने हुनुपर्दछ । यसका लागी प्रधानमन्त्री नै हुनुपर्छ राष्ट्रपति नै हुनुपर्छ भन्ने होइन । यदि महिला गिटी कुटेर खान्छे भने पनि उ त्यसमा शसक्त चाँहि हुनुपर्छ । कुनै पनि क्षेत्रमा उ शसक्त चाँहि हुनुपर्छ । 
तपाईका धेरै फिल्म हिट मानिन्छन् तर तपाईका कतिपय विवादले यसलाई अझ माथि जान नदिएको भनिन्छ नि ?
यो एकदमै गलत कुरा हो । मिडियाको कारणले मात्रै यदि चलचित्र चल्ने हो भने पछिल्लो प्रयोगात्मक किसिमका चलचित्र धेरै बने । यसलाई मिडियाले ठुलो स्थान दियो तर कहाँ चले त ति फिल्म । मेरो हमेशाको कुरा गर्न खोज्नु भएको होला अहिले पनि हेर्नुस म नाफामा नै छु । मलाई दर्शकले अथाह मायाँ गरिदिनु भएको छ । त्यो भन्दा ठुलो सम्पति पैसा त होइन । पैसाकै कुरा गर्ने हो भने पनि मेरो लगानी उठेर म नाफामा छु । एकदुई जनाले सर्पोट गरेनन् भन्दैमा चलचित्र तलमाथि जान्छ भन्नेमा मलाई विश्वास छैन । यति मात्रै हो कि दर्शकले माया गर्नु पर्छ हामिले दर्शको चाहना समेटेको हुनुपर्छ । 
काली सम्म आइपुग्दा कतिवटा फिल्म निर्माण गर्नुभयो ?
मैले काली सम्म आइपुग्दा ९ वटा फिल्म निर्माण गरे । 
९ वटा फिल्ममा अलिकति स्थान कुन चाँहिले पाएन जस्तो लाग्यो ?
मलाई कुनै पनि मेरो फिल्मले उचित स्थान नपाए जस्तो लाग्दैन । अजम्बरी नाता देखि लिएर यहाँ सम्म आइपुग्दा मलाई मिडिया कर्मिले सहयोग पुयाउनुभएको छ । उहाँहरु प्रति म आभारी छु । हिजो मैले चलचित्रमा आइपुग्दा देखि म आज आउँदा सम्म उहाँहरुको सहयोग यथावत छ । मलाई सर्पोट छैन भनेर मलाई कुनै पनि सन्देह छैन ।
९ वटा फिल्म आफैले निर्माण गर्नु भयो फिल्म चाँहि कतिवटा खेल्नु भयो ?
अहिलेसम्म लगभग १ सय ५० को हाराहारीमा फिल्म खेलेको छु । 
अरुको फिल्म अभिनय गर्नु र आफुले नै फिल्म बनाउनुमा कुन राम्रो लाग्यो त ?
अरुको फिल्म खेल्दा सहज हुन्छ ,आफ्नो फिल्ममा धेरै कुराको जिम्वेवारी हुन्छ तर पनि अरुको फिल्म खेल्दा उनिहरुको लगानी उठेन भने भन्ने डर हुन्छ । आफ्नो फिल्ममा आफ्नै लगानी हुन्छ डुबे पनि खास फरक पर्दैन तर अरु नडुबुन भन्ने मेरो चाहना हो । 
नेपाली चलचित्र उद्योगमा राम्रो घरघरानाका व्यक्तिहरु आउदैनन् भनिन्छ ,यसमा के भन्नुहुन्छ ?
यसमा मेरो शतप्रतिशत सहमति छैन । राम्रो घर घराना भनेर केलाई भनिन्छ ?के त्यसो भए हामि सडकबाट आएको हो त, हाम्रो घर छैन ?हाम्रो समाज ,परिवार छैन ? कस्तोलाई भनिन्छ राम्रो घरघराना ? र कस्तोलाई भनिन्छ नराम्रो घरघरानाको ? यसको छुट्याउने मापदण्ड के हो ?
मानिसहरु किन यसो भनिरहेका छन् त यसलाई प्रष्ट पारिदिनुहोस् न ?
नेपालमा राम्रो घरघरानाका भन्ने बित्तिकै पुँजिवादलाई भनिन्छ । जोसँग पर्याप्त पैसा छ त्यसलाई राम्रो घरघरानाको भनिन्छ । जो गरिब छन् ,मजदुरी गर्छन तिनिहरुलाई नराम्रो घर घरानाको भनिन्छ मेरो बुझाइमा । नेपाल आफैमा गरिब देश हो ,यहाँ कोहि पनि धनि गरिब छन् जस्तो मलाई लाग्दैन । यो देशमै कोहि राम्रो घरघरानाको छैन । यदि पर्याप्त पुँजी भएकाहरुलाई राम्रो घरघरानाका भनिन्छ भने मेरो भन्नु केहि छैन होइन भने मलाई यस्तो लाग्छ कि राम्रो घरघराना त्यो हो जहाँ इज्जत छ ,सँस्कार छ ,जहाँ रितिरिवाज र परम्परा छ त्यसलाई राम्रो घरघरानाको भनिन्छ जस्तो मलाई लाग्दछ । मलाई जहाँसम्म लाग्छ नेपाली चलचित्र क्षेत्रमा लाग्ने अधिकांश मानिसहरु अनुशासित र राम्रो परिवारकै हुनुहुन्छ । कोहि पनि ग्रह बाट निस्कीएर आएको छैन ,सबैको आमाबावु छन् ,सबैको घर परिवार छ ,सबै आफ्नो तरिकाले राम्रा राम्रा व्यक्तिहरु हुनुहुन्छ । 
यसलाई गलत मान्नुहुन्छ ?
म यसलाई शतप्रतिशत गलत मान्छु । 
तपाई एउटा स्थापीत कलाकार हुँदाहुँदै पनि राजनितिमा होमिनु भएको छ यसको कारण के होला ? 
हरेक नागरिकले राजनिति गर्न पाउने अधिकार छ । भोट हाल्न पाउने अधिकार छ । सामाजिक सेवा गर्नु या राजनिति गरेर देशको सेवा गर्नु उस्तै हो । मेरो एक्लो आवाज पर्याप्त नहुन सक्छ । मान्छे यसका लागी नै संगठन बनाउछ । मान्छे एक्लै जन्मिन्छ,मर्छ,संघर्ष गर्छ तर जिवन जिउने क्रममा किन संगठन चाहन्छ त । मैले कला क्षेत्रमा जुन सेवा  गरे राजनितिमा पनि सेवा गर्ने मेरो उद्धेश्य छ । राजनितिमा सेवा गर्नका लागी मेरो एक्लो पहल पर्याप्त हुँदैन । त्यसका लागी मलाई संगठन चाहिन्छ । यसै क्रममा एकिकृत माओवादी मलाई राम्रो लाग्यो ,यसमा मेरो विचार मिल्यो यसकारण यो पार्टीमा म गए । राजनिति भनेको एउटा सेवा हो र राज्यको निति बनाउने एउटा ठाँउ हो । 
कलाकारीता र राजनिति दुवैलाई संगसंगै लान सक्नुहुन्छ ?
यदि म संघर्ष गरिरहेकी युवति थिए भने मलाई दुवै डुंगामा पाइला चाल्न गाह्रो हुन्थ्यो । तर मैले एउटा मिडियालाइृ पार लगाइसकेको अवस्था छ । अब पार लगाएको डुंगालाई पार लगाउने र नयाँ डुंगालाई खियाएर अघि बढाउने मेरो विचार हो ।
त्यसो भए कलाकारीतालाई छोड्ने विचार गर्नु भएको हो ?
म यसलाई छोडन चाहदिन तर कुन तरिकाले निरन्तरता दिने भन्ने कुरा महत्वपूर्ण हो । बर्षमा एउटा फिल्म बनाएर हुन्छ कि खेलेर हुन्छ म यसलाई निरन्तरता दिन्छु । 
यसको मतलव धेरे समय राजनितिलाई र केहि समय फिल्म क्षेत्रलाई दिन चाहानु हुन्छ हो ?
अहिले मैले सोच परिवर्तन नामको एनजिओ खोलेको छु । २ बर्ष अगाडी नै मैले यो खोलेको हुँ । मैले यो संस्थाको माध्यमबाट ५ जना द्वन्द पिडित बालबालिकालाई पढाई रहेकी छु । उनिहरुका लागी गाँस बास कपासको व्यवस्था गरिरहेकी छु । म संग कोहि दाता पनि छैनन र मैले यसलाई सार्वजनिक पनि गरिरहेकी छैन । मैले मेरो जन्मदिनको अवसरमा मात्रै यो कुरा सार्वजनिक गरेको हुँ । समाजसेवामा म सार्वजनिक हुन पनि चाहन्न । मैले बाध्यतावश यो भनेको हुँ । म आफै पनि पिडित मान्छे हुँ,म पूँजिवादी मान्छे होइन । म आफै पनि २ छाक खान ठिक्क पुग्ने  मान्छे हुँ ।  तरपनि म आफुले बाँकि राख्न सकेको कुरा अरुमा सेयर गर्न चाहान्छु । यहि सोचले मैले सोच परिवर्तन नामक एनजिओ खोलेको हुँ । र भोलिको दिनमा राजनिति त गर्दै जाँउला नि,६० बर्षको उमेरमा बल्ल नेता बन्छ । त्यसैले म संग पर्याप्त टाइम छ । पहिला समाज सेवा गरौ अन्य कामका लागी त म संग पर्याप्त समय छँदै छ । यसका संगसंगै राजनिति पनि अझै बुझ्दै जाँउ । 
रेखा थापाले आजसम्म राजनिति कत्तिको बुझ्नु भएको छ ?
कसरी हुन्छ आफ्नो देशको विकास हुनु प¥यो । देशका जनताले सुख सुविधा भोग्न पाउनु प¥यो । यति भएमा हिजो विपिको पालोमा के थियो ,गिरिजाबावुको पालोमा के थियो ,फलानोको पालामा के भयो भन्ने जस्ता कुरा महत्वपूर्ण कुरा भएन् । 
अन्त्यमा के भन्नु हुन्छ ?
असोजको २५ गते फुलपातीको दिनबाट मैले निर्माण गरेको चलचित्र काली लाग्दैछ ,त्यसका लागी सम्पूर्ण दर्शकहरुलाई चुले निम्तो दिन चाहन्छु ।
स्रोत  : मेरोजिल्ला.कम 

No comments:

Post a Comment