
के तपाईंलाई दुई साताभन्दा बढी समयदेखि खोकी लागिरहेको छ ? मुख्यतः साँझपख ज्वरो आउँछ ? राति पसिना आउनुका साथै छाती दुख्छ ? खाना रुच्दैन ? शरीरको तौल कम भएको छ ? खकारमा रगत देखिएको छ ? छ भने चिकित्सककहाँ पुगिहाल्नुस् । यो फोक्सोमा क्षयरोग लागेको लक्षण हुन सक्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हाम्रो मुलुकमा करिब ८० हजार क्षयरोग ी भएको अनुमान गरिएको छ । वर्षेनी पाच हजारदेखि सात हजारजनासम्मको मृत्यु यही रोगका कारण हुन्छ । वर्षेनि ४५ हजार नयाँ क्षयरोग ी थपिने गरेका छन् ।
क्षयरोग भन्नासाथ मुख्यतः फोक्सोको संक्रमण ठानिन्छ । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुले गर्दा क्षयरोग हुन्छ । यो ब्याक्टेरियाले मुख्यतः फोक्सोमै आक्रमण गर्छ । छाती रोग विशेषज्ञ डा. रमेश चोखानीका अनुसार, करिब ९७ प्रतिशत क्षयरोग फोक्सोमै हुने गरे पनि यो ब्याक्टेरियाले मस्तिष्क, आन्द्रा, मृगौला, हाड, जोर्नी लगायत कुनै पनि अंगमा आक्रमण गरेर त्यसलाई संक्रमित पार्न सक्छ ।
' क्षयरोग नियमित उपचारले पूरै निको हुन्छ,' क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त भन्छन्, 'मुलुकभरिका ४ हजार १ सय डट्स केन्द्रमा यो रोगको निःशुल्क औषधि र परीक्षण सेवा उपलब्ध छ ।'